
गुल्मी, चैत ११ – गुल्मी जोहाङ्ग–३ की पवित्रा भुसाल उमेरले ६० वर्ष कट्नुभयो । उमेरसँगै कपाल समेत फुलेर सेतै भएका छन् । कपाल फुले अनि उमेर ढल्कियो तर पनि उहाँको मनको रहर भने अझै ढल्केको छैन । उहाँलाई मोवाइल चलाउन सक्ने हुन ठूलो रहर छ । त्यसैले उहाँ अहिले गाउँमा नै सञ्चालन भएको निरन्तर शिक्षा कक्षामा पढ्न थाल्नुभएको छ ।भुसाल मात्र होइन अहिले गुल्मीको बाँसपाटा, पिपलनेटा, थोर्गा लगायतका ठाउँहरुमा संचालन भएका यस्ता कक्षामा उहाँकै उमेरका आमाहरु गाउँमा सञ्चालन भएको निरन्तर शिक्षा कक्षामा नियमित पढ्न जान थालेका छन् । आफ्नो नाम लेख्ने र मोवाइल चलाउने ठूलो रहर लागेकोले पढ्न आएको पवित्राले बताउनुभयो । ‘पहिले सानै उमेरमा विवाह गरेर घर आउने चलनले पढ्न पाइएन, अहिले बुढेसकालमा भएपनि नाम लेख्ने ठूलो धोको छ’ उहाँले भन्नुभयो । सुरु पढ्न आउँदा अलि अप्ठ्यारो लाग्ने गरेको भएपनि अहिले भने धेरै सजिलो भएको र अलिअलि अक्षर चिन्दै जान थालेको भुसालले बताउनुभयो ।
पवित्रा भुसालसँगै निरन्तर शिक्षा कक्षामा सहभागी ५७ वर्षकी झविकला भुसालले पनि आफ्नो नाम लेख्न कै लागि साक्षरता कक्षामा सहभागी भएको बताउनुभयो । ‘मलाई आफ्नो नामसगै मोवाईल चलाउने रहर लागेर यहाँ आएकी हँु, म्याडमले नाम लेख्न र मोवाइल चलाउन सक्ने बनाउँछु भन्नु भएको छ’, उहाँले भन्नुभयो । गाउँमा कक्षा सञ्चालन भएदेखि लगातार रुपमा आफूहरु साक्षरता कक्षामा सहभागी बनेको उहाँले बताउनुभयो । साक्षरता कक्षामा आउने आमाहरु सबैले बिहान सबेरै घरको कामकाज सकेर आउने गरेका छन् । गएको महिनादेखि सञ्चालन भएको साक्षरता कक्षामा पढ्न आउने आमाहरुमा धेरै परिर्वतन आएको शिक्षिका इन्दिरा भुसालले बताउनुभयो । कक्षा सञ्चालन भएको छोटो समयमै आमाहरुमा परिर्वतन भएको उहाँको अनुभव छ । ‘आफ्नो नाम र मोवाइल चलाउन सक्ने बन्न उहाँहरुको ठूलो धोको रहेको छ’ उहाँले भन्नु भयो ‘कक्षा सञ्चालन भएदेखि उहाँहरुले एक दिन पनि कक्षा छोड्नु भएको छैन ।’
स्थानीय आवश्यकतालाई आधार मानेर जीवन उपयोगी सीप सिकाउने उद्देश्यले जिल्लामा निरन्तर शिक्षा संचालन गरिएको जिल्ला शिक्षा अधिकारी मित्रमणी खनालले बताउनुभयो । जस अन्तर्गत मोवाइल चलाउने, उन्नत कृषि, कुखुरा पालन, बंगुर पालन जस्ता उपयोगी खालका सीप सिकाउन थालिएको खनालले बताउनुभयो ।‘निरन्तर शिक्षामा स्थानीय स्तरमा पुरुष भन्दा महिलाको संख्या बढी देखिएको छ’ खनालले भन्नु भयो ‘अहिले सघन रुपमा नौ गाविसमा मात्र कक्षा संचालन गरेका छौं, यो शिक्षा जिल्लामा निकै प्रभावकारी रुपमा देखिएको छ, आगामी वर्षमा जिल्लाका सम्पूर्ण गाउँपालिका र नगरपालिकाका वाडाहरुसम्म पुराउने सोच बनाएका छौं ।’ जिल्ला शिक्षा कार्यालय गुल्मीका अनुसार सामान्य लेखपढ गर्न नजान्ने बुढापाकाका लागि जिल्लामा निरन्तर शिक्षा सञ्चालन भइरहेको छ ।
Leave a Reply