ADVS here

ज्वाइँको कापी ससुराले जाँचे:

ADVS here

त्रिभुवन विश्वविद्यालय सेवा आयोगले वि.सं. ०७२ कात्तिकमा विश्वविद्यालयको उपप्राध्यापक पदका लागि गरिएको विभिन्न विषयको लिखित परीक्षाको संशोधित नतिजा प्रकाशन गर्‍यो । त्यसअघि आयोगले उतीर्ण विद्यार्थी भन्दै नामावली प्रकाशन गरिसकेको थियो । तर, दोस्रोपटक संशोधित सूचनामा त्यसअघि पास भएका भनिएका ६ जना परीक्षार्थी फेल भएको देखियो । त्यसअघिको सूचनामा फेल भएका परीक्षार्थीहरु पास भएको देखियो । त्रिविवि सेवा आयोगले यसरी पटक-पटक परीक्षाको संशोधित नतिजा प्रकाशित गरी फेललाई पास र पास भएकालाई फेल गर्ने क्रम चलाइरहृयो । यस्तो अवस्थाबारे उजूरी परेपछि सतर्कता केन्द्रले छानविन थालेको थियो । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले त्रिभुवन विश्वविद्यालयको प्राध्यापकहरुको नियुक्ति, सरुवा, बढुवा, परीक्षा सञ्चालन जस्ता कामहरु गर्ने गर्छ ।

अनुसन्धानपछि सतर्कता केन्द्रले त्रि.वि को परीक्षाको विश्वासको आधार नभएको निष्कर्ष निकालेको छ । उपप्रध्यापकका लागि गणित विषयको परीक्षाका लागि विभिन्न अन्य विद्यार्थीसँगै अमरनाथ साह पनि थिए । उनी त्रिविविसेवा आयोगले प्रश्नपत्र निर्माण विज्ञ तथा कापी जाँच्ने विज्ञ भनी नियुक्त भएका प्राध्यापक राम विश्वास शाहका छोरी ज्वाइँ हुन् । परीक्षामा ज्वाइँ हमरनाथ साहले परीक्षा दिँदै थिए । ससुरा साहले आयोगका पदाधिकारीसँग मिलेमतो गरी आफैँ प्रश्न पत्र तयार गरे । र, परीक्षाअघि सम्भावित प्रश्नहरु भन्दै प्रश्नको हल गरेर ज्वाइँलाई सिकाए ।

यतिमात्र होइन, उनले विचौलियामार्फत पास हुन चाहने विद्यार्थीसँग पैसा मागेको र पैसा तिर्न सहमत विद्यार्थीलाई समेत सम्भावित प्रश्नहरु भन्दै परीक्षा अघि नै प्रश्नपत्रको हल गरेर पठाए । र, ती विद्यार्थीहरुलाई उत्तरपुस्तिकामा विभिन्न संकेत कोर्न लगाएको सतर्कताको अनुसन्धानले देखाएको छ । सतर्कता केन्द्रले तयार पारेको छानविन प्रतिवेदनले भनेको छ, ‘प्रश्नपत्रको निर्माणकर्ताको रुपमा, उत्तरपुस्तिका जाँचकको रुपमा र प्रश्नपत्र हल गरी विभिन्न व्यक्तिलाई दिएको कुरा शिक्षक साहले लिखितरुपमा समितिलाई जानकारी गराएको हुँदा त्रिभुवन विश्वविद्यालयको परीक्षा प्रणालीमाथि विश्वास गर्ने अवस्था देखिएन ।’

प्राध्यापक साहले त्यतिमात्र गरेनन्, उत्तर पुस्तिकामा विभिन्न संकेत राख्न लगाएर गणित विषयको कापीसमेत आफैँ जाँच्ने व्यवस्था मिलाए । अन्ततः ज्वाइँको कापी आफैँ जाँचेर उनलाई पास गराएको सतर्कताको अनुसन्धानले पुष्टि गरेको छ ।

त्रिभुवन विश्वविद्यालयसेवा आयोगले समेत एउटै व्यक्ति (साह)लाई प्रश्नपत्र विज्ञ र उत्तरपुस्तिका जाँच्ने विज्ञका रुपमा नियुक्त गरेर मिलोमतो रहेको पाइएको सतर्कताले तयार पारेको छानविन प्रतिवेदनले दाबी गरेको छ ।

ads5

ADVS here

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*